माओवादी केन्द्रमा संस्थागत रुपमा कुनै कम्युनिस्ट मूल्य, मान्यता र आदर्श बाँकी रहेन । त्याग, वीरता र बलिदानको गौरवशाली इतिहासको जगमा निर्माण भएको यो पार्टी जनयुद्धबाट शान्तिप्रक्रियामा आएपछि जब नेतृत्वले संसवादी र संशोधनवादी बाटो अँगाल्यो, त्यसबेलादेखि यो पार्टी ओरालोमा ब्रेक फेल भएको गाडी जस्तै भएको छ । ब्रेक फेल भइसकेको छ । दायाँ बाँया भीर छ, घुम्ती र मोडहरु छन्, प्रचण्डसँग सुरक्षित अवतरण गराउने कुनै विकल्प बाँकी छैनन्, बाहेक दुर्घटनाको प्रतीक्षा । दुर्घटना भयो, हुन्छ । यो निश्चत कुरा हो । प्रचण्डले ओरालो यात्रा सुरु गरेपछि आफ्नो ज्यान बचाउन कतिले हाम्फाले । हाम्फाल्दा कति घाइते भए, कति सकुशल भए त्यसको हिसाब हुँदै जाला तर अहिले प्रचण्ड चालक रहेको गाडिमा जति यात्रु यात्रारत रहेका छन्, उनीहरु दुर्घटनामा पर्ने चिन्ता विगतको एउटै पृष्ठभूमि भएकाले पनि स्वभाविक हो । भीरमा गएको गोरुलाई राम भन्न सकिन्छ, तर काँध हाल्न सकिन्न भनेजस्तै यस्तो अवस्थामा यात्रुहरुलाई सुन्नेगरी भन्नैपर्छ– गाडी दुर्घटना हुँदैछ, तपाईहरुलाई ज्यानको माया छ भने गाडीको सिसाहरु फुटाउनुस्, बाहिर हाम्फाल्नुस्, सामान्य घाइते हुनुहोला तर बाँच्नुहुन्छ । जानजान प्रचण्डसँगै सति नजानुस् । सतिप्रथाको अन्त्य भइसकेको छ ।
१० पुस २०७९ देखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । एक दिनमै गठबन्धन फेरबदल गरेर १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले अहिलेसम्म चारपटक संसदबाट विश्वासको मत लिइसकेका छन् । यो बीचमा अनेक तिडकम गरी तीनपटक गठबन्धन फेरबदल गरेर प्रचण्ड प्रधानमन्त्रीमा टिकिरहेका छन् । र, केवल विदेशीको घोडा बनिरहेका छन् । विदेशीको घोडा बनेका प्रचण्डको तवला ओलीको हातमा भए पनि उतैको इशारामा काम गरिरहेका छन् । उनी घोडा बनेको धेरै भयो । काम नलाग्ने भएपछि घोडा फेर्ने उनीहरुको चलन नै हो । जब प्रचण्ड घोडा बन्न लायक रहने छैनन्, उनलाई साथ दिइरहेका हजारौको राजनीतिक भविष्य पनि प्रचण्डसँगै सकिने छ । ‘प्रचण्ड भनेको माओवादी केन्द्र हो र माओवादी केन्द्र भनेको प्रचण्ड हो’भन्ने भाष्य कति महंगो साबित हुन्छ– दुर्घटना भएपछि थाहा हुन्छ । सिपी गजुरेलभन्दा जुनियर नेता प्रचण्डलाई महामन्त्री बनाउँदाको मूल्य त मोहन वैद्यले चुकाइसकेका छन् । बुढा र युवाको कुरा गर्ने विप्लवको हालत पनि देखिसकिएकै छ ।
नेपालमा जनयुद्ध ऐतिहासिक रुपले आवश्यक थियो । दशवर्षसम्म सान्दार रुपमा सञ्चालित भयो । ८० प्रतिशत भूभागमा जनसरकार चलाएकै हो । बाँकी २० प्रतिशत कब्जा गर्न सहर सदरमुकाम छिरेको माओवादी नेतृत्वले बाटो बदल्दा, धोका र गद्दारी गर्दा जनसरकार, जनसेना, आधारइलाका, जनवादी मुल्य, मान्यता, आदर्श सबै ध्वस्त भए, पारिए । जनयुद्ध लडेको माओवादी दर्जनौं टुक्रामा विभाजित बन्न पुग्यो । जनयुद्धकै तागतमा स्थापित यो कथित लोकतान्त्रिक गणतन्त्र केवल विदेशीको ‘रखेल’मा परिणत भयो । विदेशीको कठ्पुतली, केवल कठ्पुतली । जनताको हुन सकेन, बनाउन दिइएन । जसले यो गणतन्त्रलाई जनताको गणतन्त्र बनाउने प्रतिबद्धता गरेको थियो, उसले नै बाटो बदलेपछि, आफै विदेशीको घोडा बन्न तम्सिएपछि यो गणतन्त्र आम श्रमजीवी नेपाली जनताको लागि सारा दुःखको मूल कारण बन्न पुगेको छ । जनतालाई आफैले रगत बगाएर ल्याएको यो सुधारिएको भनिएको संसदीय व्यवस्था घाँडो भएको छ । अब यसलाई पाल्ने होइन, फाल्ने बेला भइसकेको छ । जनविरोधी र राष्ट्रविरोधी सारतत्व भएको यो संसदीय व्यवस्था फाल्न अब दर्जनौ टुक्रामा विभाजित भएका माओवादी क्रान्तिकारीहरु मात्रै होइन, नेपालमा कम्युनिस्ट पार्टी स्थापना देखि नयाँ जनवादी सत्ता स्थापनाको नारा दिएर कम्युनिस्ट पार्टीको आवरणमा गतिविधि गरिरहेका सबै एकताबद्ध हुन जरुरी छ । कि नाम अनुसारको काम गर्नुपर्छ, कि नाम बदल्नु पर्छ । कम्युनिस्ट भन्ने तर प्रतिक्रियावादीहरुको खेताला बन्ने खेती अब बन्द गर्नुपर्छ । भ्रमबश संसदीय सत्ता स्वार्थको ओरालो यात्रा हिडेकाहरु सबैले अब क्रान्तिको उकालो यात्रा तय गर्नुपर्छ, । फेरि सगरमाथामा संसारले देख्ने गरी क्रान्तिको लाल झण्डा फहराउनु पर्छ ।